Logo
२८ वैशाख २०८१, शुक्रबार

‘तयारी नपुगे’को भन्दै सुदूरपश्चिमको लगानी सम्मेलन स्थगित

अक्षरपाटी
२०८० माघ २० , शनिबार ०८:०२ मा प्रकाशित

धनगढी। सुदूरपश्चिममा आगामी फागुनमा गर्ने भनिएको लगानी तथा विकास सम्मेलन स्थगित भएको छ।

स्थगित हुनुको कारण भने तयारी नपुगेको भनिएको छ। प्रदेश सरकारले हाललाई सम्मेलन स्थगित गरेर आगामी आर्थिक वर्षमा गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिममा लगानी भित्र्याउने उद्देश्यले प्रदेश सरकारले आगामी २३ र २४ फागुनमा लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो।

लगानी सम्मेलनको तयारीस्वरूप प्रदेश सरकारले संघीय राजधानी काठमाडौंमा सरोकारवालासँग पटकपटक छलफल, अन्तर्क्रियासमेत गरेको थियो।

गत १२ माघमा बसेको मन्त्रिपरिषद् बैठकले फागुनमा हुने भनिएको लगानी सम्मेलन स्थगित गरेर आगामी वर्ष २१ र २२ असोजमा गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर लगानी सम्मेलनको तयारी अगाडि बढाइएको थियो।

सम्मेलनको तयारीका लागि अन्य समितिहरूसमेत गठन गरिएका थिए। सम्मेलनमा लगानीकर्तालाई प्रस्तावका लागि केही योजनाको पहिचानसमेत गरिएको छ।

आवश्यक तयारी नपुगेकाले सम्मेलन स्थगित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

तयारीविनै सरकारले लाखौँ खर्च गरेर लगानी सम्मेलन गर्न लागेको भन्दै सदनमा कुरा उठेको थियो। अन्तिम समयमा आएर लगानी सम्मेलन स्थति हुनुलाई कतिपयले अर्थपूर्ण रुपमा लिएका छन्।