Logo
२ भदौ २०८३, मंगलबार

तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा निकालियो

अक्षरपाटी
२०८३ भदौ २ , मंगलबार ०९:०८ मा प्रकाशित

काठमाडौ। तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन नर्भिक इनटरनेशनल हस्पिटलमा इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ।

नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको चिकित्सकटोलीले रौतहटका तीन महिनाका बालकको पेट र सानो आन्द्राको बीच भाग पाइलोरस (पेटको तल्लो भाग)मा अड्किएर बसेको तीन सेन्टिमिटरको हेयरपिन सफलतापूर्वक निकालेको हो।

उपचारमा डा अग्रवालसँगै एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठ र डा आरोग्य कँडेल तथा सिनियर इन्डोस्कोपिक टेक्निसियन ईश्वर गौतम लगायत ओटी प्राविधिक तथा नर्सहरु संलग्न थिए।

‘तीन महिनाका बालकको इन्डोस्कोपि गर्नु नै जटिल विधि हो,’ डा अग्रवालले भने, ‘हामीले ब्रोङ्कोस्कोप मार्फत पिनलाई पेटको माथिल्लो भागमा ल्यायौ र थेराप्युटिक इन्डोस्कोपीमार्फत हेअरपिन निकाल्न सफल भयौ।’

बालकका आफन्तले साउन ३१ गते आइतबार नर्भिकमा उपचारका लागि ल्याएका थिए। चिकित्सकको टोलीले सोही दिन करिब एक घण्टा १५ मिनेट लगाएर बालकको पेटमा अड्किएको पिन निकाल्न सफल भएको बताएका छन्।

पिन निकालेपछि बालकलाई करिब तीन घण्टा अब्जरभेसनमा राखेर डिस्चार्ज गरिएको थियो ।

बालकका ठूलोबुबाका अनुसार बालककी तीन वर्षकी दिदीको मुखमा पनि हेयरपिन भेटिएपछि आमाले बालकले पनि पिन खाएको थाहा पाएकी थिइन्।

बालकले हेयरपिन खाएको पाँचदिनसम्म पिन आफै दिसामार्फत निस्किन्छ कि भनेर उनीहरुले चिकित्सकसँग परामर्श मात्रै लिएका थिए।

तर पाँचदिन सम्म पनि पिन दिसामा नदेखिएपछि बालकका आमाबुबा स्थानिय अस्पताल पुगेका थिए।

स्थानीय अस्पतालले काठमाडौं रेफर गरेपछि उनीहरु रौतहटबाट प्लेनमार्फत काठमाडौंको आइपुगे। जाँच गर्दा बच्चाको पेटको पिन अड्किएर बसेको देखिएको थियो।

अस्पतालले उपचारका लागि भारत जानुपर्ने र नेपालमा उपचार नहुने भनेपछि उनीहरुले प्लेन टिकट समेत काटिसकेका थिए।

तर आफन्तमार्फत नर्भिकमा उपचार हुने थाहा पाएपछि उनीहरु नर्भिक आए र डाक्टर अग्रवालसँग सम्पर्क गरेका थिए।

‘हामीकहाँ उपचारका लागि आउँदा बालकका आमाबुबा निकै आत्तिनुभएको थियो। अर्को अस्पतालबाट उपचारका लागि भारत जान सिफारिस भएको रहेछ’ डा अग्रवालले भने, ‘यस्तो केसमा तीन महिनाका बालकको उपचार प्रक्रिया जटिल हुन्छ, त्यसैले भारत जान भनिएको होला, तर नर्भिकमा उच्चप्रविधि र चिकित्सकको ठूलो टोली छ, हामीले नर्भिकमै बालकको उपचार सफलतापूर्वक गर्याैँ।’

भारत लैजान प्लेन टिकट समेत काटिसकेका उनीहरु नर्भिकमै उपचार सफल भएपछि खुसी भएका छन्।

‘भारत लैजान प्लेन टिकट नै काटिसकेका थियौ, नर्भिकमै उपचार हुँदा धेरै खुसी लागेको छ, बालकका ठूलोबुबाले भने, ‘बाबु अहिले ठिक छ, हामी प्लेन टिकट फिर्ता गरेर घर फर्कियौं ।’