Logo
५ जेठ २०८१, शनिबार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ मा गर्ने तयारी

अक्षरपाटी
२०८० माघ २१ , आईतबार ०२:०२ मा प्रकाशित

काठमाडौं, २१ माघ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ। राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा रिक्त हुन लागेको अध्यक्ष पदको निर्वाचन फागुन २९ गते गर्नेगरी छलफल भएको हो।

छलफलपछि कार्यव्यवस्था तथा परामर्श समितिले निकालेको सम्भावित कार्यसूचीमा अध्यक्षको निर्वाचन फागुन २९ गते गर्ने उल्लेख छ। संभावित कार्यसूचीअनुसार फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय तोकिनेछ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिदैछ।

राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भइसकेको छ। नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेपछि राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र पहिलो,नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेकपा एस चौथो दल छन्।

राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला प्रमुख दावेदार छन्। यद्यपि नेकपा माओवादी केन्द्रले पनि अध्यक्ष पदामा आफ्नो तर्फबाट उम्मेदवार बनाउनुपर्ने तर्क गर्दै आएको छ।