Logo
५ जेठ २०८१, शनिबार

कोशीमा भागबन्डा मिलेपछि सरकार विस्तारको तयारी

अक्षरपाटी
२०८० माघ २२ , सोमबार ०३:०२ मा प्रकाशित

विराटनगर,२२ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेका कारण सम्भव भए आजै सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले बतायो ।

सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट दबाब बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।

कांग्रेसबाट प्रदीपकुमार सुनुवारको नाम फाइनल भएको छ । उनी संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहबाट रामकुमार खत्री मन्त्री बन्ने लगभग पक्का जस्तै छ । कोइराला समूहकै इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी छ ।

सिटौला समूह र सरकार गठनका लागि पार्टी भित्र विद्रोह गर्दा साथ दिएका अन्य सांसदलाई पनि चित्त बुझाउनुपर्ने भएका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।

नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्ने भएका छन् । उदयपुरका नारायण बुर्जामगरको नाम फाइनल भएको छ । उनी दोस्रो पटक निर्वाचित प्रदेश सांसद हुन् । माओवादी केन्द्रले संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्कीलाई पनि सरकारमा पठाउने निर्णय गरेको एक नेताले बताए ।

माओवादीबाट गणेश उप्रेती पर्यटन मन्त्री छन् । कार्की र बुर्जामगर सहभागी भए माओवादीका तीन मन्त्री हुनेछन् । मुख्यमन्त्री केदार कार्कीले यसअघि एक जना मात्रै मन्त्री नियुक्त गर्ने बताएका थिए । तर राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि माओवादीलाई चित्त बुझाउन कार्की दुई वटा मन्त्रालय दिन तयार भएका हुन् ।

सत्तारुढ गठबन्धनको निर्णय विरुद्ध विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री बनेका केदार कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सार्दा कार्कीले डाक्टर शेखर कोइराला पक्षका ८ सांसदसँग मिलेर विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री बनेलगत्तै उनले एमालेका रामबहादुर राना मगर र शमशेर राईलाई पहिलो चरणमा मन्त्री बनाएका थिए । कार्की गठबन्धनमा फर्किएपछि एमाले सरकारबाट बाहिरियो । मुख्यमन्त्री कार्कीले १७ कात्तिकमा माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जबेगुलाई मन्त्री बनाएका थिए । १८ कात्तिकमा एमालेले सरकार छाडेको थियो ।

कुन मन्त्रालय कसलाई ?

सरकार विस्तार गर्ने तयारी गरेका मुख्यमन्त्री कार्कीले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालय माओवादीलाई दिनेछन् ।

कांग्रेसले उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना मन्त्रालय लिनेछ । स्वास्थ्य मन्त्रालय जसपालाई दिने तयारी छ । जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएका कारण सो मन्त्रालय पनि कांग्रेसले नै लिने तयारी छ ।

कोशी सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्री छन् ।

राई, उप्रेती र जबेगूले १७ मंसिरमा मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसअघि उनीहरु विना विभागीय थिए ।