Logo
६ जेठ २०८१, आईतबार

फागुन १ मा सार्वजनिक बिदा छैन:गृह मन्त्रालय

अक्षरपाटी
२०८० माघ २९ , सोमबार १२:०२ मा प्रकाशित

काठमाडौं,२९ माघ । नेकपा माओवादी केन्द्रले जितेका केही पालिकाहरूले जनयुद्ध दिवसको अवसर भन्दै फागुन १ मा सार्वजनिक बिदाको घोषणा गरेपछि गृह मन्त्रालयले उक्त दिन सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ।

गृहमन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ मा कुनै सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो।

‘मन्त्रिपरिषद‍्को मिति २०८०र१०र२५ गतेको बैठकको निर्णयअनुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९र१२र०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारी गराइन्छ,’ मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकारले जनयु्द्ध दिवसका अवसरमा फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। चौतर्फी विरोधपछि सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। सर्वोच्चले उक्त रिटमाथि सुनु्वाइ गर्दै जनयुद्ध दिवसको नाममा फागुन १ मा दिएको सार्वजनिक बिदा संविधानको भावना र मर्मविपरीत ठहर गर्दै खारेज गरिदिएको थियो।

तर,अदालतको आदेशविपरीत माओवादी केन्द्रले जितेका विभिन्न स्थानीय तहले जनयुद्ध दिवसको नाममा फागुन १ मा धमाधम सार्वजनिक बिदा घोषणा गरेका छन्। स्थानीय तहले बिदा दिन थालेपछि पुन: आलोचना सुरू भएको छ।