Logo
१२ वैशाख २०८१, बुधबार

महिलामाथि बोक्सीको आरोप, मलमुत्र खुवाएर यातना

अक्षरपाटी
२०८० फागुन ४ , शुक्रबार ०३:०२ मा प्रकाशित

विराटनगर, ४ फागुन । मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ । प्रहरीका अनुसार ५५ वर्षीया महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको हो ।

बिहीबार दिउँसो २ बजेतिरको घटनाका बारेमा प्रहरीले साँझ मात्रै जानकारी पाएको थियो । बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाएर कुटपिट गर्दै यातना दिने अर्की महिलालाई प्रहरीले पक्राउ गरेको छ । बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीया पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनको भनाइ छ । प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो ।

पूजाको दियो चोरी गरेको आरोप उनले पीडितलाई लगाएको प्रहरीको भनाइ छ । पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए ।

पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटकपटक आग्रह गरेको प्रहरीको भनाइ छ । तर, माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेकी थिइन् ।