Logo
२३ वैशाख २०८१, आईतबार

मन्त्री, प्रधानमन्त्री बनेकाहरुले आफ्नो घर बनाएपनि नेपाल बनाउनेबारे सोचेनन्: नेता भण्डारी

अक्षरपाटी
२०८० फागुन ५ , शनिबार ०७:०२ मा प्रकाशित

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले नेपालीले नेपालभित्र नै नेपाल खोज्न नसकेको बताएका छन्।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको प्राकृतिक स्रोत साधानको सही तरिकाले परिचालन र सही तरिकाले देशको नेतृत्व गर्न नसकिएको बताए।

वीर गोर्खाली भनेर संसारलाई स्वतन्त्र बनाउन हिँडेकाहरुलाई देश विकासमा लगाउन नसक्नु ठूलो कमजोरी भएको उनले बताए।

‘हामीले नेपालभित्र नेपाल खोज्न सकेनौं । हिजो संसारलाई स्वतन्त्र बनाउन हिँड्ने वीर गोर्खालीहरुको यो देशलाई त्यही गोर्खालीहरुलाई हामीले मुलुक विकासमा उपयोग गर्न सकेनौं । नेपालको प्राकृतिक स्रोत र साधनलाई सही तरिकाले उपयोग गरेर जनतासित साझेदारी बनाउन सकेनौं,’ उनले भने।

पशुपति, लुम्बिनी, मुक्तिनाथ, हलेसी धार्मिकस्थल र विभिन्न हिमालहरु भएको देशलाई पर्यटकीय हिसाबले विकास गर्न नसकिएको उनको भनाइ छ।

अहिले युवा, किसान र सबै जनताले नेतृत्वमाथि प्रश्नैप्रश्न गरिरहेको नेता भण्डारीको भनाइ छ ।

साथै, सरकारले किसानलाई मल, विउ, सिँचाईलगायतका सुविधा दिन नसक्दा पनि किसानले बल्लबल्ल गरेको उत्पादन बाँदरले खाइदिने, बजारमा पठाउने बेला सीमानाका नाकाहरु खोलिदिने र बजार भाउ नपाउने जस्ता समस्या रहेको उनले बताए।

किसानको अनुदान पनि ठूलाबडा र पहुँच भएकाहरुले नै खाने गरेको उनको आरोप छ।

नेता भण्डारीले मन्त्री, प्रधानमन्त्री बनेकाहरुले आफ्नो घर बनाएपनि समग्र नेपाल बनाउनेबारे नसोचेको बताए

नेताहरुले थोरै लोभ त्याग्ने र कर्मचारीहरुले छिटो–छिटो काम गर्दिने हो भने असन्तुष्ट्रिहरु काम हुँदै जाने उनको दाबी छ । अहिलेको स्थितिको समाधानका लागि सबै राजनीतिक दलहरुले आफूभित्रै परिवर्तन गर्नुपर्ने उनले बताए।

‘यो स्थिति समाधान गर्न सबै राजनीतिक पार्टीहरुले आ–आफ्नो पार्टीभित्र परिवर्तन गर्नुपर्छ । सोच, दृष्टिकोण र त्यागमा परिवर्तन गर्नुपर्छ’ उनले भने, ‘अहिले धेरै दुःख छैन । सहिदहरु गंगाालाल, शुक्रराज, धर्मभक्त, दशरथ चन्द बन्नेजस्तो होईन नि जीवन त्याग्नुपर्ने । अहिले नेताहरुले थोरै लोभ त्याग गर्ने, कर्मचारीहरुले छिटो–छिटो काम गर्दिनेवित्तिकै मुलुक बन्नसक्छ । तर पनि हामीले यति गर्न सकेका छैनौं ।’

मुलुक बिगार्ने जोसुकै भएपनि कारबाही हुनुपर्ने उनले बताए । वरिपरी गरिब राखेर बीचको ठूलो घर अब धेरै दिन टिक्दैन भन्ने सन्देश दिन आवश्यक रहेको उनले बताए ।

अब नेपालभित्र नेपाल र नेपाली खोज्न आवश्यक रहेको उनले बताए । नेपालको नयाँ नक्सा जारी गरेर देशभरी नै दीपावली मनाएपनि उक्त नक्सा परराष्ट्र मन्त्रालयकै दराजमा थन्किएको उनले बताए।

नेपालभित्र नेपाली खोज्न सकेमात्रै मुलुकमा विकास गर्न सकिने, मुलुकलाई अगाडि बढाउन सकिने र समृद्धिको कल्पना गर्न सकिने उनले बताए ।

‘हामीले नेपालको नक्सा जारी गर्यौं । देशभरी दीपावली मनायौं । सर्वसम्मत सबै मिलेर गर्यौं । तर, त्यो नक्सा परराष्ट्र मन्त्रालयको सानो दराजभन्दा बाहिर जान सकेन । विदेश जान सकेन । कसको काम गर्दारहेछन् ? त्यसकारण हामीले नेपालभित्र नेपाली खोज्न पर्ने टड्कारो आवश्यकता देखापर्यो,’– उनले भने ।

कांग्रेसको महासमितिको बैठकमा दस्ताबेज बनाउँदा र कार्यक्रम ल्याउँदा जनतासँग जोडिएका, किसानसँग जोडिएका र राज्यका संरचनासँग जोडिएका कुराहरुलाई अगाडि बढाउने उनले बताए ।

अहिले नेपालको राजनीतिक नेतृत्व अत्यन्त कमजोर रहेको दाबी गर्दै उनले संविधान संशोधनको कुरा उठाउँदा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको बताए।

अहिले कांग्रेसमा उठिरहेको हिन्दुराष्ट्रको वहस एकआपसमा छलफल र समीक्षा हुने बताए । आफू लागेको बाटोलाई यो राम्रो नराम्रो भन्नुभन्दा पनि जनताको भावनालाई कदर गर्नुपर्ने उनको भनाइ छ।

धर्मनिरपेक्षताको पक्षमा कांग्रेसले पनि हस्ताक्षर गरेको भन्दै आफू यसको विरुद्धमा नबोल्ने उनले बताए।