Logo
११ जेठ २०८३, सोमबार

राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अक्षरपाटी
२०८० फागुन ८ , मंगलबार ०२:०२ मा प्रकाशित

काठमाडौं,८ फाल्गुण । काठ बिक्रीमा हिनामिना गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति रुख कटान गर्दा भ्रष्टाचार गरेको दाबीसहित मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कपिलवस्तुको क्षेत्र नम्बर ३ (२)बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित यादवलाई पनि प्रतिवादी बनाइएको छ।

उनी गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हुन्। १९ लाख १२ हजार एक सय ९३ रुपैयाँ बराबरको काठ वास्तविक रूपमा काटेकोभन्दा कम परिमाण देखाई हिनामिना गरेको अख्तियारको दाबी छ।

आयोगले जिल्ला वन कार्यालय, कपिलवस्तुका जिल्ला वन अधिकृत कृष्णदत्त भट्टसहित १६ कर्मचारी र दुई फर्निचर सञ्चालकलाई पनि प्रतिवादी बनाएको छ।