Logo
२३ वैशाख २०८१, आईतबार

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्‍चार्ज र सह- इञ्‍चार्ज, को कहाँ ?

अक्षरपाटी
२०८० फागुन १६ , बुधबार ०१:०२ मा प्रकाशित

काठमाडौं,१६ फागुन । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्‍चार्ज र सह-इञ्‍चार्ज तोकेको छ। पार्टी कार्यालय पेरिस डाँडामा दुई दिन बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता अग्नीप्रसाद सापकोटाले प्रदेश इञ्‍चार्ज र सह-इञ्‍चार्जहरू तोकिएको जानकारी दिएका हुन्।

प्रवक्ता सापकोटाका अनुसार कोशी प्रदेशको इञ्‍चार्जमा हरिवोध गजुरेल र सह -इञ्‍चार्जमा सावित्री कुमारी काफ्ले तोकिएका छन्। यसैगरी मधेश प्रदेशको इञ्‍चार्जको जिम्मेवारी लीलामणी पोखरेललाई दिइएको छ भने विश्वनाथ साहलाई सह-इञ्‍चार्ज बनाइएको छ।

बागमती प्रदेशको इञ्‍चार्जको जिम्मेवारी अग्नीप्रसाद सापकोटालाई दिइएको छ। सह -इञ्चार्ज तोक्न बाँकी छ। गण्डकी प्रदेशमा दिनानाथ शर्मा इन्चार्च र हरिराज अधिकारी सह-इन्चार्च रहेका छन्।

लुम्बिनी प्रदेशमा चक्रपाणी खनाललाई इञ्‍चार्ज र कुलप्रसाद केसीलाई सह-इञ्‍चार्जको जिम्मेवारी दिएको छ। कर्णाली प्रदेशमा काली प्रसाद मल्ल इञ्‍चार्ज बनाइएको छ। सह-इञ्चार्ज तोक्न भने बाँकी छ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराज मणि पोखरेल इञ्‍चार्ज र बिना मगरलाई सह-इञ्‍चार्जको जिम्मेवारी दिइएको छ।

प्रवास प्रदेश समितिको मध्यपुर इञ्‍चार्जको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ। प्रवास प्रदेश समिति भारतको इञ्‍चार्जमा लक्ष्मण पन्त र सह-इञ्‍चार्जमा टीभी पाठकलाई जिम्मेवारी दिइएको छ।

प्रवास प्रदेश समिति युरोप-अमेरिकालगायतको इञ्‍चार्जको जिम्मेवारी सुरेन्द्र कुमार कार्कीलाई दिइएको छ। विशेष प्रदेश समितिको इञ्‍चार्जको जिम्मेवारी हितमान शाक्य र सह इञ्‍चार्जको जिम्मेवारी यशोधा सुवेदीलाई दिएको प्रवक्ता सापकोटाले जानकारी दिए।

बैठकले चैत्र १ गते गर्ने भनिएको मधेश तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेश राष्ट्रिय अभियान बैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ।