Logo
१५ वैशाख २०८१, शनिबार

नजन्मनु छोरीहरू

अक्षरपाटी
२०८० फागुन २५ , शुक्रबार ११:०३ मा प्रकाशित

o लीला अनमोल

यो युगमा
म मेरो कुन स्वतन्त्रताको बयान गरूँ?
म भत्किन सक्छु अब
अपाङ्ग भएर तिम्रो न्याय
केवल कानुनका ठेलीहरूमा थन्किएपछि

अपराध
रुपैयाँसँग च्याँखे थापेर
जीवनको क्रय विक्रय चलेको छ ।
मान्छेमा क्रुरता जमेपछि
नैतिकताको शिर ढलेको छ ।

नजन्मनु छोरीहरू अब यो युगमा
भएकाहरूले राखिदिनु बाँझो आफ्नो कोख
र बन्द गरिदिनु सृष्टि सञ्चालनको एउटा अध्याय ।

ओ सन्तुलन बिग्रीएर विर्य कुहिएकाहरू
तिम्रो स्खलनले
दुनियाँका सामु निष्प्राण भएर
जब धपक्क जूनजस्तो बलेको
एउटा कलिलो जिन्दगी ढल्छ नि
मलाई यस्तो लाग्छ..
परिपक्वताले ठिङ्ग उभिएकी
एउटी जवान आइमाई म
बरु तिम्रो तिर्खा मेट्न आफ्नो योनी बिक्रीमा राखिदिऊँ
र अवरोध खोलिदिऊँ छोरीहरूको जीवन हिँड्ने बाटो
फेर्न दिऊँ उनीहरुलाई निडर भएर श्वास स्वतन्त्रताको।

तिम्रो उत्तेजनाको जेब्राकसमा
दुर्घटनाको जोखिम छ,
सम्हालिएर नहिँड्नेहरूको ज्यान लिन तयार होस् कानुन
तर जब रहस्यको घाउ दुखेर
विचलित हुन्छ दुनियाँ
सर्सराएर धमनीबाट रगत उम्लिन्छ मेरो समय।