Logo
१५ वैशाख २०८१, शनिबार

सेयर बजार २१ सय विन्दुमाथि

अक्षरपाटी
२०८० फागुन २९ , मंगलबार ०४:०३ मा प्रकाशित

काठमाण्डौ,२९ फागुन । लगातार चौथो दिन पनि नेप्से परिसूचकमा वृद्धि भएको छ। मंगलबार नेप्से उच्च अंकले बढेर २१ सय विन्दुमाथि पुगेको छ। नेप्से ५८.५८ अंकले बढेर दुई हजार एक सय ११.२४ विन्दुमा पुगेको हो।

आज सेन्सेटिभ इन्डेक्स दुई तथा फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स तीन प्रतिशतभन्दा धेरैले बढेका छन्।

तीन सय पाँच कम्पनीका एक करोड ६ लाख नौ हजार पाँच सय ९७ कित्ता सेयर चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँभन्दा धेरैमा खरिद–बिक्री भएको छ। आज नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको हो। सोमबार दुई अर्ब ९१ करोड रुपैयाँबराबरको मात्रै कारोबार भएको थियो।

आज नेप्सेका १३ वटै समूहमा हरियाली छाएको छ। जीवनबिमा र लघुवित्त समूहका सूचकमा सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। बैंकिङ, होटेल तथा पर्यटन र निर्जीवन बिमा समूहको सूचक तीन प्रतिशतभन्दा धेरैले बढेका छन्।

नेप्से दोहोरो अंकले बढ्दा पाँचवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो।