Logo
२२ वैशाख २०८१, शनिबार

रेशमले रन्जितालाई लेखे- मैले तिमीलाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन

अक्षरपाटी
२०८० फागुन ३० , बुधबार १०:०३ मा प्रकाशित

काठमाडौं, ३० फागुन । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो ।

श्रेष्ठ पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ‘ह्विप’ लगाएको छ भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

यसै सन्दर्भमा रेशमले रन्जितालाई सम्झाउन नसकेको भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका छन् । उनले फेसबुकमार्फत् गठबन्धन साना दललाई सिध्याउन हो, हामी कसैका पछाडि नलागौँ, पार्टी निर्माणमा जुटौँ भन्दै आग्रह गरेका छन् ।

रन्जितालाई सम्झाउन आफू कैलालीबाट काठमाडौं आए पनि सम्झाउन नसकेको उनले उल्लेख गरेका छन् । ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भैइनन् । उनको भनाइ छ ‘ प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नुहुन्न,’ रेशमले लेखेका छन्, ‘अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए, हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि ! अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौं । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखेल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।’