Logo
२१ वैशाख २०८१, शुक्रबार

मेयर हमाललाई धम्की दिएको भनिएका राना अस्पताल भर्ना, आफन्त भन्छन्ः के नागरिकले मेयरलाई प्रश्नै गर्न नपाइने हो ?

अक्षरपाटी
२०८० चैत्र ६ , मंगलबार ०५:०३ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई धम्की दिएको आरोप लगाएका गणेश राना अस्पताल भर्ना भएका छन्।

उनी विषादी सेवनपछि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मंगलबार बिहान करिब साढे १० बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले उपमहानगरपालिका कार्यालयमै विषादी सेवन गरेको सिसिटिभी फुटेजमा देखिएको छ।

उनले नगरपालिका भित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेको बताइएको छ।

अहिले उनको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आर्इसियु) मा उपचार भइरहेको छ। प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर र स्थिर रहेका बताए।

रानाले आफूलाई वाट्सएप मार्फत धम्की दिएको भन्दै सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दकाअनुसार प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि पत्र पठाएको थियो।

‘धम्की दिएको र सुरक्षाको माग गर्दै निवेदन आएपछि उहाँ (कमल राना)लाई हामीले सम्पर्क गरेका थियौँ’ प्रहरी नायव उपरीक्षक चन्दले भने, ‘हिजो बौनिया छु, आज १० बजे प्रहरी कार्यालय आउँछु भन्नु भएको थियो। अहिले विष सेवन गरेको कुरा सुनियो।’

रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान नगर प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका लगेर गएको बताएका छन्।

‘बिहान ८ बजे घरमा पुगेका नगर प्रहरीले तपाईँको छोरालाई हामी लग्दै छौँ भनेको थियो । घरबाट राम्रै पठाएको थिएँ। नगर प्रहरीले समातेर लगेको हो,’ रानाले भने, ‘अहिले विषादी सेवन गरेर अस्पतालमा पुर्याइएको छ। उहाँहरूमाथि शङ्का छ।’

उनका आफन्तहरूले जग्गा अंशबन्डा सम्बन्धी मेयरलाई प्रश्न गरेकै भरमा पक्राउ गर्न नगर प्रहरी पठाएको बताए।

‘एउटा नागरिकले आफ्नो समस्याबारे नगरप्रमुखलाई प्रश्न गर्नै नमिल्ने हो ?’ उनले भने, ‘त्यति प्रश्न गर्दा सादा पोसाकमा नगर प्रहरी घरमै पठाएर लगे।’

तर नगर प्रहरीले भने रानालाई नियन्त्रणमा नलिएको दाबी गरेको छ। धनगढी नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भूपेन्द्र खड्काले रानालाई नियन्त्रणमा लिएको कुरामा सत्यता नभएको बताए।