Logo
१५ वैशाख २०८१, शनिबार

शाखा अधिकृतसँग ३ करोड २१ लाख अवैध सम्पत्ति, अख्तियारले हाल्यो मुद्दा

अक्षरपाटी
२०८० चैत्र ८ , बिहीबार ०४:०३ मा प्रकाशित

काठमाडौं,८ चैत । काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराइ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीविरुद्ध आज विशष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

काठमाडौं उपत्यका विकास प्राधिकरण,जिल्ला आयुक्तको कार्यालय,काठमाडौंअन्तर्गत वाग्मतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय,बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रुपमा कागेश्वरी मनोहरा,गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना,माकलवारीमा खटिइ काम गर्दै आएका शाखा अधिकृत (रा.प. तृतीय श्रेणी/करार) कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उनीमाथि आरोप छ।

पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना,माकलवारीमा खटिएको बेला कार्कीले सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा सेवा प्रवेश गरेको (२०५८/ ०४/१६ देखि २०७९/१२/३०) अवधिमा कार्कीको आम्दानी र मौज्दातमा रहेको रकममध्ये ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बराबरको बैधानिक स्रोत नखुलेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रवक्ता घिमिरेका अनुसार ३ करोड २१ लाख ३२ हजार ९५६ बिगो र सोही रकम बराबरको जरिवाना कार्कीबाट असुल गर्न माग गर्दै आरोप पत्र दायर गरिएको हो।

कार्कीको छोरी गृष्मा कार्की र पत्नी देवका अधिकारीको नाममा रहेको गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ।