Logo
१५ वैशाख २०८१, शनिबार

सुन प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा, अनुसन्धान भने जारी रहने

अक्षरपाटी
२०८० चैत्र ९ , शुक्रबार ०३:०३ मा प्रकाशित

काठमाडौं, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको जानकारी दिए।

सरकारी वकिल कार्यालयले आवश्यकता परेमा बोलाएको बखत उपस्थित हुनेगरी महरालाई छोड्न सहमति दिएपछि उनी छुटेका हुन्।

हिरासतमुक्त भएपनि उनीमाथि अनुसन्धान भने जारी रहनेछ । सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

चैत्र ५ गते सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका पूर्व सभामुखसमेत रहेका महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको थियो। कमजोर स्वास्थ्य अवस्थाका कारण महरालाई नर्भिक अस्पताल भर्ना गरिएको छ। उनलाई अस्पतालबाटै बयान दिन जिल्ला सरकारी वकिलको कार्यालय पेश गरेको थियो।