Logo
१५ वैशाख २०८१, शनिबार

एकै टोलका पाँच जनाको मृत्यु, गाउँ नै शोकमा

अक्षरपाटी
२०८० चैत्र १३ , मंगलबार ०१:०३ मा प्रकाशित

अछाम। चैत ११ गते पहाडमा होली मनाइँदै थियो। अछामका प्रत्येक गाउँटोलमा होलीको रौनक छाउँदै थियो।

मेल्लेख गाउँपालिका १ ऋषिदहका लालबहादुर धामीलगायत ४ जना साथीभाइ मिलेर षोडशाको माडीगडामा खेलिने होली हेर्ने सल्लाह गरे।

लालबहादुर धामी उनका बुवा ५५ वर्षीया रंग धामी र अन्य दुई ४५ वर्षीया प्रेम धामी, ३७ वर्षीया नरबहादुर धामी निर्माण भइरहेको साँफे मेल्लेख सडकमा जालीमा ढुंगा भर्ने काम गर्थे।

होली हेर्न साँफेबगर नगरपालिका ४ को भण्डारी गाउँमा ससुराली जाने तयारीमा थिए लालबहादुर।

संगै काम गर्ने साथीहरुले र षोडशा जाने ट्याक्टर फेला परेपछि उनी पनि माडिगडा पुगे। उनीहरु चारै जना ०१००२ त ४९७९ नम्बरको ट्याक्टरमा चढेर होली हेर्न माडीगडा पुगेका थिए।

उनीहरुले अर्को दिन कामबाट फर्कंदा सोही ट्याक्टरमा फर्किने निधो गर्दे होली खेल्नतिर लागे।

काममा फर्किनु पर्ने भएकाले उनीहरु बिहानै त्यही ट्याक्टरमा चढेर फर्किए। नन्देगडाको सुयडा पुगेपछि खाजा खाने भन्दै रोकिए।

खाजा खाएपछि ५ जना चालकसँगै अगाडि र लालबहादुर लगायत ३ जना पछाडि ढालामा बसे। गाडी चालक जनक धामीले ट्याक्टर अगाडि बढाउनै लाग्दा एक्कासी गड्याङगुडुग हुँदै सडकबाट तल खस्यो।

लालबहादुरको आँखा अगाडि रात परेजस्तै भयो। उनले भने, ‘एकछिन पछि मानिसहरुको भीड लाग्यो। आफूहरुलाई खुट्टाहात अनि अनुहारका चोट लागेको थियो। अगाडि बसेका बुवालाई खोज्न थालें, ट्याक्टर मुनि ५ जना चेपिएको देखें। त्यो अवस्था देख्दा बुवा बाँचे होलान् भन्ने लागेन।’

घरको आर्थिक अवस्था कमजोर भएका कारण बुवा छोरा नै मजदुरी गर्दै आइरहेको उनले बताए। दुर्घटनामा घाइते लालबहादुर र हंस धामीको अस्पतालमा उपचार भइरहेको छ।

अगाडि बसेका लालबहादुरका बुवा ५५ वर्षीया रंग धामी र ४५ वर्षीया प्रेम धामी,३७ वर्षीया नरबहादुर धामी, १५ वर्षीया जनक धामी र ट्याक्टर चालक २१ वर्षीया जनक धामीको ज्यान गइसकेको थियो।

मृतक १५ वर्षीया जनक साँफेबगरको होटलमा काम गर्थे। होली खेल्न र हेर्न उनी गाउँ गएका थिए। एकै वडा, एकै टोलका ५ जनाको मृत्यु भएको घाइते लालबहादुरकी श्रीमती चन्द्राकला धामीले बताइन्।

उनले भनिन्, ‘घरमा दुई पैसा बढी आउला भनेर बुवा छोरा नै मजदुरी गर्थे। खाने परिवार ठूलो छ। घरमा सहयोग हुन्छ भनेर ससुरा पनि ज्यालादारी काम गर्थे। दैवले ससुरालाई खोसेर लग्यो। श्रीमान् घाइते छन्। किरिया बस्नै मान्छेसमेत छैनन्। खान लगाउन मुस्किल छ, झन् यस्तो विपत आइलाग्यो। गरिबलाई जताबाट पनि दुःखै मात्र हुँदो रहेछ।’

भारतमा नोकरी गर्दै आएका लालबहादुरको परिवार एक वर्ष पहिले गाउँ फर्किएका थिए। मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको छ।

रंगहरुको पर्व होलीको रंग मेटिन नपाउँदै मेल्लेख गाउँपालिका शोक डुबेको छ।