Logo
१९ वैशाख २०८१, बुधबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै,पक्ष र विपक्षमा दुई-दुई वटा ह्विप जारी

अक्षरपाटी
२०८० चैत्र २२ , बिहीबार ०९:०४ मा प्रकाशित

धनगढी,२२ चैत । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयले बिहीबार ३ बजेका लागि संसद बोलाएको छ। बिहीबार मुख्यमन्त्री शाहका लागि विश्वासको मत लिने अन्तिम दिन हो।

नेकपा माओवादी केन्द्र र समाजवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। एक महिनासम्म नागरिक उन्मुक्तिबाट विश्वासको मत पाउने आशामा रहेका मुख्यमन्त्री शाहले अब भने आशा मारिसकेका छन्। उनको नेतृत्वको सरकार जोगाउनका लागि नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य निर्यायक हुन्। तीमध्ये ५ जनालाई उनले मन्त्री बनाए पनि, २ जनाले भने मत नदिने संकेत गरेका छन्। ५ जना मध्ये पनि रेशम पक्षकी भनिएकी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री ईन्द्रा गिरिलाई अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले बुधबार कारबाही गरेपछि रेशमको पक्षमा ४ जना मात्रै प्रदेशसभा सदस्य बचेका छन्। ‘प्रदेशसभा सदस्य गिरिलाई कारबाही गरिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छ’, सभामुख भीमबहादुर भण्डारीले भने। भण्डारी नेकपा माओवादी केन्द्रबाट सभामुख भएका हुन्। गठबन्धनलाई सहज पार्न उनले गिरिको प्रदेशसभा सदस्य खाली भएको सूचना बिहीबारकै सदनमा सुनाउने सम्भावना छ।

संवैधानिक प्रावधान अनुसार कुनै पनि सदस्यलाई हटाउन परे त्यसको जानकारी सदन चलेको भए सदनलाई र नचलेको भए सूचना टाँस गर्नुपर्छ। विश्वासको मत लिनुभन्दा अगावै गिरिलाई हटाइएको जानकारी आउने सम्भावना रहेको स्रोतले बतायो। शाहको नेतत्वको सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी उनलाई पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कारबाही गरेकी हुन्। उनको कारबाहीको पत्र सुदूरपश्चिम प्रदेशसभामा बुधबार नै दर्ता भइसकेको छ।

रञ्जीता र रेशमबीचको विवाद प्रदेशसभामा पनि छताछुल्ल भएको छ। बिहीबारको विश्वासको मतका लागि नागरिक उन्मुक्तिका दुुई÷दुुई ह्विप जारी भएका छन्। पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आफ्ना सांसदहरूलाई मतदान नगर्न निर्देशन दिएकी छन् भने संसदीय दलका प्रमुख सचेतक खुशीराम डँगौरा थारूले रञ्जीताको ह्विपलाई काउन्टर दिँदै मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन अर्को ह्विप जारी गरेका छन्।