Logo
१८ वैशाख २०८१, मंगलबार

रेशम चौधरीको मुद्दा हेर्न नमिल्नेको सूचीमा

अक्षरपाटी
२०८० चैत्र ३० , शुक्रबार ०१:०४ मा प्रकाशित

काठमाडौं,३० चैत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त मुद्दामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो ।

टिकापुर नरसंहारमा दोषी ठहर भएर जेलमा बसेका समय चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर जेलमुक्त भएलगत्तै पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनी निर्वाचन आयोगले मान्यता नदिएपछि सर्वोच्च अदालत पुगेका थिए ।

चौधरीले निर्वाचन आयोग, संस्थापक अध्यक्ष एवम् आफ्नै श्रीमती रञ्जिता श्रेष्ठ लगायतलाई विपक्षी बनाई आफूलाई अध्यक्षको मान्यता नदिने आयोगको निर्णय खारेज हुनुपर्ने माग गर्दै रिट दर्ता गराएका थिए । उक्त रिटमाथि गत चैत २५ गते न्यायाधीश महेश शर्मा पौडेलको इजलासले प्रारम्भिक सुनुवाइ गरी सर्वोच्च अदालतबाट भएको फैसलासमेत सँगै राख्ने आदेश दिएको थियो ।

यसअघि टिकापुर नरसंहारको मुद्दामा फैसला गर्दा न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासबाट फैसला भएको थियो । पुरानो मुद्दा पनि सँगै राखिने भएपछि उक्त मुद्दामा अब नहकुल सुवेदी रहेको इजलासले हेर्न मिल्दैन ।