Logo
८ साउन २०८१, मंगलबार

गगन थापा भन्छन् : राजनीतिका साना दोकान बन्द गरौँ

अक्षरपाटी
२०८१ वैशाख ४ , मंगलबार ०२:०४ मा प्रकाशित

धनगढी। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिका साना पसल बन्द गर्नुपर्ने धारणा राखेका छन्।

उनले मुलुकमा साना पार्टीले जहिले पनि सत्ताका लागि मात्रै मोलमोलाई गर्ने भएकाले साना पार्टी नरहने अवस्था सृजना गर्नुपर्ने बताएका हुन्।

समुदायमा कांग्रेस अभियान अन्तर्गत धनगढी पुगेका महामन्त्री थापाले रेशम रन्जिता विवादलाई सङ्केत गर्दै साना पार्टीका कारण घर झगडा मात्रै बढिरहेको बताए।

‘पार्टीका कारण घर झगडा बढिरहेको छ। राजनीतिका साना दोकानहरू बन्द गराउनुपर्ने अवस्था छ’, उनले भने।

थापाले कांग्रेसले आउँदो एक वर्षसम्म सरकारमा जान नहुने समेत धारणा राखे।

‘२०८१ साल भरि सिंहदरबारतिर फर्केर पनि नहेरौँ । बालुवाटारतिर पनि फर्केर नहेरौँ’ उनले भने । थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताए।

‘चुनाव अगाडिको गठबन्धन असफल भयो। अब नेपाली कांग्रेसले त गर्दै गर्दैन। अब नेकपा एमालेले पनि गर्दैन’, उनले दाबी गरे, ‘अब निर्वाचन प्रणाली बदल्नुपर्छ त्यसको लागि कांग्रेस र एमाले मिल्नुपर्छ।’

गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए। उनले सरकारमा जाँदा होस् या मन्त्री बन्दा गुट बलियो बनाउने काम भइरहेको बताए।

‘हाम्रो सदस्यता वितरणबाटै गुटबन्दी सुरु हुन्छ’, उनले भने ‘कांग्रेसको सदस्य बन्न कसैलाई रोक्नु हुँदैन।’

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन आवश्यक रहेको थापाले जोड दिए।

पूर्वी नेपालबाट सुरु भएको समुदायका कांग्रेस अभियान कञ्चनपुरमा समापन हुँदैछ।

गगन थापा नेपाली काँग्रेस