Logo
२१ वैशाख २०८१, शुक्रबार

कतारी राजा आज आउँदै,आज सार्वजनिक बिदा

अक्षरपाटी
२०८१ वैशाख ११ , मंगलबार १०:०४ मा प्रकाशित

काठमाडौं,११ वैशाख । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा पहिलोपल्ट उनी नेपाल आउन लागेका हुन्।

दुई विशेष विमानमा आउने कतारी राजाको टोलीमा केही मन्त्री र सरकारी उच्च अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनको भ्रमण तयारीका लागि सरकारी तथा सुरक्षा अधिकारीहरूको ठूलो टोली सोमबारै काठमाडौं आइसकेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिरले आएकै दिन राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने भएको छ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कतारसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २० वर्षपछि सन् १९९८ मा नेपालबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गरेका थिए। पछिल्लो पटक सन् २०१८ अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गरेकी थिइन्। यसबीच, अरू उच्चस्तरको भ्रमण नेपालबाट भएको छ।

नेपालीका लागि कतार रोजगारीको एक प्रमुख गन्तव्य हो। त्यसैकारण पनि अमिरको भ्रमणलाई निकै महŒवका साथ हेरिएको छ। सरकारी तथ्यांकअनुसार साढे ३ लाख नेपाली श्रमिक कतारमा कार्यरत छन्। नेपालका लागि कतार करिब दुई दशक यतादेखि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहँदै आएको छ।

यो भ्रमणले नेपाल र कतारबीच रणनीतिक विकास साझेदारका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार नेपालको पर्यटन, जलविद्युत् स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम, संस्कृतिलगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने गरी तयारी भइरहेको छ।

स्वागतमा बिदा

कतारका अमिर आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा मंगलबार सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले भनिन्, ‘विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय गरिएको हो।’

तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हुँदै नेपाल आउने भएका हुन् । उनी बुधबार बेलुका नै कतार फर्कने तालिका छ।