Logo
२१ वैशाख २०८१, शुक्रबार

तातो हावासँगै देशभर डढेलोका घटना बढ्यो,धेरैजसो ठाउँमा डढेलो नियन्त्रण बाहिर

अक्षरपाटी
२०८१ वैशाख ११ , मंगलबार ०३:०४ मा प्रकाशित


काठमाण्डौ,११ बैशाख । तातो हावासँगै देशका धेरै ठाउँमा डढेलोका घटना बढेका छन् । वन तथा भू–संरक्षण विभागको डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार अहिले देशका दुई सय ८० वटाभन्दा धेरै ठाउँमा बलिरहेको डढेलो रहेको छ ।

कतिपय ठाउँमा डढेलो निभाउने प्रयास भइरहेको भए पनि धेरै ठाउँमा डढेलो नियन्त्रण बाहिर रहेको छ । स्थानीयवासीले बस्ती जोगाउनका लागि प्रयास गरिरहेका छन् ।

पछिल्ला केही दिनदेखि डढेलोका घटना बढिरहेका छन् । हिजो एकैदिन देशका चार सय ७७ वटा ठाउँमा डढेलो लागेको थियो । बितेको एक हप्तामा नौ सय वटाभन्दा धेरै ठाउँमा डढेलो लागेको विभागले जनाएको छ । धेरै ठाउँमा डढेलो बस्तीमा पुग्दा कैयौँ घर जलेका छन् ।

यही वैशाख १ देखि हिजो सोमवारसम्मको १० दिनमा देशका विभिन्न ठाउँका संरचनामा भएको आगलागीमा छ जना र डढेलोमा एक जना गरी सात जनाको ज्यान गएको छ । बितेको १० दिनमा संरचनामा हुने आगलागीका घटना दुई सय ५५ वटा भएकामा धेरैजसो डढेलो बस्तीमा पस्दा भएका हुन् । आगलागी र डढेलोबाट १० दिनमा १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

एक हप्तादेखि लगातार तापक्रम बढेको र तातो हावा चलिरहेकोले अहिले डढेलोको जोखिम अत्यधिक रहेको डढेलोविद् सुन्दर शर्माले बताउनुभयो । नेपालमा धेरैजसो डढेलोका घटना मानवीय लापर्बाहीका कारण हुने भएकोले यो मौसममा आममानिस धेरै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । डढेलोका कारण देशभर वायु प्रदूषण पनि बढेको छ ।