Logo
२१ वैशाख २०८१, शुक्रबार

कतारका राजा अमिरलाई काठमाण्डौ विमानस्थलमा भव्य स्वागत

अक्षरपाटी
२०८१ वैशाख ११ , मंगलबार ०५:०४ मा प्रकाशित


काठमाण्डौ, ११ बैशाख । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । कतारका अमिर थानी दिउँसो पौने ४ बजेतिर विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ ।

कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपतिसँगै स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका अमिर दुई दिने राजकीय भ्रमणका लागि उहाँ नेपाल आउनुभएको हो । उहाँले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

भोलि बिहान कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्ने भएको छ । त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ ।