कैलाली,३ जेठ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका किसान गोकर्ण ओलीको बगैँचामा लटरम्म स्याउ फलेका छन् ।
चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान ओलीले लटरम्म स्याउ फलाउनुभएको छ । उहाँले फलाउनुभएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ ।
२०७८ सालको माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोप्नुभएको हो । उहाँका अनुसार बिरुवा लगाएको दुुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ । पाँच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।
स्याउखेतीका लागि अहिलेसम्म ८० लाख रुपैयाँ लागत लागिसकेको ओलीले बताउनुभयो । तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको उहाँको भनाइ छ ।
किसान ओलीले प्रति बेर्ना तीन सय रुपैयाँका दरले अहिलेसम्म एक हजार आठ सय स्याउका बेर्ना बेचिसकेको बताउनुभयो । उहाँले स्याउसँगै अम्बा र बयर पनि रोप्नुभएको छ ।
ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख रुपैयाँ अनुुदानसमेत पाउनुुभएको छ ।