Logo
३० असोज २०८१, बुधबार

एमालेले भन्यो – माधव नेपाल सच्चिए सुदूरपश्चिम सरकार विस्तार हुन्छ

अक्षरपाटी
२०८१ जेठ २१ , सोमबार ०२:०६ मा प्रकाशित


कैलाली,२१ जेठ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले आगामी आर्थिक वर्षको बजेट जनता केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

सोमबार एमाले प्रदेश संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एमालेको सुझावकै आधारमा सरकारको नीति तथा कार्यक्रम आएको बताए ।

अब सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनको पक्ष बलियो बनाउनु पर्नेमा उनले जोड दिएका थिए । उनले नीति तथा कार्यक्रम कार्यान्वयन नभए आफूहरूको समर्थन वर्तमान सरकारलाई नहुने समेत प्रस्ट पारेका थिए ।

पूर्व मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता रावलले अहिले बजेट निर्माण प्रक्रियामा बिचौलियाहरू हाबी भइरहेको समेत बताए । उनले त्यस्ता बिचौलियाहरूलाई नियन्त्रण गर्न सरकारी संयन्त्रको प्रयोग हुन आवश्यक रहेको जिकिर गरे ।

‘नीति तथा कार्यक्रम राम्रो आएको छ । अब उक्त नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्छ ’उनले भने, ‘सरकारले अहिले बजेट बनाउँदा बिचौलियाहरू हाबी हुन थालेका कुरा सुनिन्छन् । ती बिचौलिया नियन्त्रण गर्न सरकारी संयन्त्रलाई प्रयोग गर्नु पर्छ ।’

सुदूरपश्चिम प्रदेश सरकारको विषयमा पनि उनले प्रस्ट पारेका थिए । माधव कुमार नेपाल स्पष्ट नभए सम्म सुदूरपश्चिम प्रदेश सरकारमा एमाले सहभागी नहुने उनले बताए ।

‘माधव नेपाल खुट्टा उचालिरहेका छन् ।यता हामी सरकारमा जाने तयारी गर्छौ उता खुट्टा उचालिरहेका हुन्छन् । जुन दिन सचिन्छन् खुट्टा उचाल्न छाड्छन् त्यो दिन सरकारमा हामी सहभागी हुन्छौँ’ उनले भने ‘सच्चिएपछि दुई मिनेट लाग्दैन एक छिनमै मन्त्री बन्छन् । ’