Logo
८ पुस २०८१, सोमबार

प्रधानमन्त्रीलाई गगनको सुझाव : नटेर्ने मन्त्री फेर्नु, नभए बालुवाटारबाट सर्नु

अक्षरपाटी
२०८१ असार ९ , आईतबार ०१:०६ मा प्रकाशित

काठमाडौं,९ असार । ​नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा मन्त्रीले नटेरेको हो भने बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा आइतबार सांसद थापाले स्थानीय तहमा बजेट दिने विषयमा मन्त्रीले नटेरेको भए उनीहरूलाई हटाउन नत्र आफैं बालुवाटार छोड्न चेतावनी दिएका हुन् ।

‘समानीकरण अनुदान स्थानीय तहको संवैधानिक अधिकार हो । संघीय सरकारको संवैधानिक दायित्व हो । संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीको कुरा बकस दिएको जस्तो गर्दै आएको छ । मानौं यो तजविजी अधिकार हो । यसपालि पनि यस्तै भयो,’ थापाले भने, ‘अहिले आएर सरकारले निर्णय गरेको भन्ने सुनियो । स्रोत छैन भनेर दिने अनुदानमा ७ प्रतिशत जति घटाउने भन्ने सुनियो । वडाको क्षेत्राधिकार पर्नेमा बजेट हाल्न नलजाउने अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो अस्वीकार्य छ । असंवैधानिक छ ।’