खोटाङ,१७ असार । खोटाङमा १३ वर्षीया बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी छन् । बालिका गर्भवती भएको परिवारले आशंक गरेपछि बलात्कारको घटना बाहिर आएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ का ५८ वर्षीय शिक्षक शम्भुप्रसाद घिमिरेले आफ्नै विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई बलात्कार गरेका हुन् । बालिकाले घरमा अस्वाभाविक व्यवहार देखाउन थालेपछि परिवारले उनको स्वास्थ परीक्षण गराएका थिए । सो क्रममा बालिकाको पेटभित्र २५ हप्ताको गर्भ रहेको पाइएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए । लगत्तै शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शिक्षिक घिमिरेले गत पुष ११ गतेयता विभिन्न समयमा बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
डिएसपी खड्काका अनुसार शिक्षक अवकाश हुन केही महिनामात्र बाँकी छ । हाल उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिएको छ ।
गर्भवती बालिकालाई उपचारार्थ जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको छ ।