Logo
७ पुस २०८१, आईतबार

फ्रान्सेली पत्रिकाले लेख्छ : राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन

अक्षरपाटी
२०८१ साउन २ , बुधबार ०३:०७ मा प्रकाशित

काठमाडौं,२ साउन । नेपालमा भर्खरै सत्ता परिवर्तन भयो, सत्ता पाउनेहरुमा खुशीको सीमा छैन भने गुमाउनेहरु निराश छन् । तर यसरी छिटो छिटो भैरहने सत्ता परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्ने र स्थायित्व नहुने चिन्ता बढाएको छ, भलै कांग्रेस र एमालेको पछिल्लो गठबन्धन नटुट्ने दाबी गरिएको छ, तर त्यसमा पत्याइहाल्नु पर्ने अवस्था छैन ।

नेपालमा भएको पछिल्लो सत्ता परिवर्तनलाई लिएर युरोपेली मुलुक फ्रान्सको एक चर्चित पत्रिका ले मोन्डेले ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ (राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन) शीर्षकमा एउटा समाचार प्रकाशित गरेको छ ।

सानो हिमाली गणतन्त्रमा हालै १५ वर्षमा १४औँ प्रधानमन्त्री नियुक्त भएको जनाएको छ । राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले सबैभन्दा उच्च स्थान पाएको जनाउँदै ७२ वर्षीय नयाँ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गएको मंगलबार २००८ यताको १४औँ प्रधानमन्त्रीको शपथ लिएको जनाएको छ ।

उनी सन् १९९० मा संसदीय व्यवस्था पुनस्स्थापना भएपछिको ३०औँ प्रधानमन्त्री भएको समेत चर्चा गरेको छ । हरेक वर्ष जस्तो नयाँ प्रधानमन्त्री हुने गरेको पत्रिकाले उल्लेख गरेको छ ।

सन् २०२२ को तथ्यांक अनुसार मोन्डेको सर्कुलेसन औसतमा प्रतिअंक चार लाख ८० हजार प्रति छ । विदेशमा पनि यो पत्रिका ४० हजार प्रति बिक्री हुने बताइएको छ ।