Logo
७ फागुन २०८१, बुधबार

उत्तरी गोरखामा पहिरो : पुरिएका २ जनाको उद्धार, एकै परिवारका ३ सहित ५ जना बेपत्ता

अक्षरपाटी
२०८१ साउन १३ , आईतबार १०:०७ मा प्रकाशित

गोरखा,१३ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन् ।

आइतवार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको हो ।

पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती वर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘बेपत्ता हुनेमा एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने भन्ने बुझिएको छ,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘प्रहरी र स्थानीय मिलेर उनीहरुको खोजी कार्य भइरहेको छ ।’

अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको उनले जानकारी दिए । उद्धार हुनेमा सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङ रहेका छन् ।

उनीहरुमध्ये दिलीपको अवस्था गम्भिर रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिबाट काठमाडौं लैजाने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए ।