


काठमाडौं । काठमाडाैंको भृकुटीमण्डपमा ६ दिनदेखि जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज आइतबार समापन हुँदैछ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ गतेदेखि सुरु गरेको एक्स्पोमा पाँच दिनमै करिब १ लाख ५० हजार दर्शकले अवलोकन गरेका हुन्।
शनिबार मात्रै ४२ हजारभन्दा बढी दर्शक एक्स्पोमा सहभागी भएका थिए। आयोजकले ६ दिनमा डेढ लाख दर्शक आउने लक्ष्य राखेकोमा पाँच दिनमै उक्त लक्ष्य पूरा भएको जनाएको छ।
शनिबार दर्शकको चाप यति बढ्यो कि भृकुटीमण्डप क्षेत्रमा पार्किङ व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको थियो। भृकुटीमण्डप परिसरका खाली स्थान, नेपाल प्रहरी क्लबका दुई तला तथा खाद्य गोदाम ग्राउन्डलगायतका क्षेत्रमा पार्किङ व्यवस्थापन गरिए पनि भीडका कारण व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो। पटक–पटक परेको वर्षाका बीच पनि दर्शकको सहमागितामा कमी नआएको आयोजकको अनुभव छ।
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पो सफल बनाउन दर्शकको सहभागिताले ठूलो उत्साह दिएको बताए। उनका अनुसार अपेक्षा गरेभन्दा राम्रो सहभागिता भएको छ।

एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचाै दिन ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्नुका साथै आकर्षक छुट, निःशुल्क सर्भिसिङ, एक वर्षको बिमा, एक वर्षको सवारी कर तथा सहुलियत ब्याजदरमा कर्जालगायतका अफर दिइरहेका छन्। एक्स्पो अवधिमा हालसम्म ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भइसकेका छन्।
विशेषगरी विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनमा दर्शकको आकर्षण देखिएको छ। युवाको रोजाइमा महँगा दुईपाङ्ग्रे ब्रान्डसमेत परेका छन्। अवलोकनकर्ताले सवारीको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी र पुनःबिक्री मूल्यबारे विशेष चासो राखेका छन्।
एक्स्पोमा लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहबले ‘आर्कफक्स’ क्रसओभर सार्वजनिक गरेको छ। नयाँ ब्रान्ड र मोडलका कारण पनि एक्स्पो नेपाली अटो बजारका लागि महत्वपूर्ण मञ्च बनेको आयोजकको दाबी छ।

एक्स्पोसँगै आयोजना गरिएको ‘नाइमा मोबिलिटी संवाद’मा प्रविधि, वित्त, बिमा, ऊर्जा र भविष्यको यातायात प्रणालीबारे छलफल भएको थियो। शनिबार ‘AI and Automotive Technology: Driving the Future of Mobility’ विषयमा विज्ञहरूबीच छलफल भएको थियो।
यसअघि ‘Battery Recycle and Ethanol Blending in Fuel’, ‘Mobilizing Mobility through Finance & Insurance’, ‘मोबिलिटी : हिजो, आज र भोलि’ तथा ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा संवाद भइसकेका छन्।
नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको दोस्रो संस्करणमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ।
आज अन्तिम दिन भएकाले नयाँ प्रविधि, नयाँ मोडल र आकर्षक अफर हेर्न भृकुटीमण्डपमा दर्शकको थप भीड लाग्ने अपेक्षा आयोजकले गरेको छ।
नाइमा मोबिलिटी एक्स्पो

