काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन्।
असंलग्न राष्ट्रहरूको सङ्गठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन्। उनले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको अपेक्षा गरेकी हुन्।
गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेको थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौं मानिस मारिएका थिए ।
नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री राणाले सो बैठकमा बताइन्। सम्बोधनका क्रममा मन्त्री राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औंल्याइन् । विभिन्न नाम र बहानामा विश्वका कैयौं ठाउँमा अहिले पनि युद्व,विद्रोह तथा हिंसाजन्य कार्यहरू भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
मन्त्री राणाले भनिन्,’मलाई लाग्छ दोस्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरूको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ ।’
मन्त्री राणाले अहिले पनि विश्वका देशहरू निरन्तर रुपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न,युद्धबाट सृजित समस्याहरूको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताइन्। ुहामीहरू जेनेभा कन्भेन्सनको ७५ औँ वर्षमा छौँ तर पनि नागरिकहरूको रक्षाका लागि सो कन्भेन्सनले आत्मसात गरेका सिद्धान्तहरूलाई नदेखेझैँ गरी बेवास्ता गरिरहेका छौं या कतै गलत व्याख्याका प्रयास पनि गरिरहेका छौँ,’उनले भनिन्,’ यस्तो अवस्थाको छिट्टै अन्त्य हुनुपर्छ र हामीहरू सबै शान्तिपूर्ण सहअस्तित्वका साथ अघि बढ्नुपर्छ ।’
परराष्ट्रमन्त्री राणाले गाजामा नागरिकहरूको मृत्यु र यसको सङ्ख्या सुन्दा र देख्दा बडो हृदयविदारक रहेको तथा रुस-युक्रेन युद्धमा नागरिकहरूले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्यहरू तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन्। यस्ता कार्यले कसैलाई पनि न्याय गर्न नसकेकोतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ छ।