Logo
२४ असोज २०८१, बिहीबार

अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट

अक्षरपाटी
२०८१ असोज १४ , सोमबार ०३:०९ मा प्रकाशित

काठमाडौं । नयाँ नेतृत्वलाई लिएर नेकपा मा‌ओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद बढ्दै गएको छ ।

काठमाडौंको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा उमेरहदको विषयलाई लिएर क्रान्तिकारी फरक फरक समूहबीच हानाहान भएको हो ।

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि दीपेश पुन, पवन कार्की र नरेश रेग्मीसहितका विद्यार्थी नेताहरू दौडमा छन् ।

यस्तोमा उनीहरूलाई माओवादीका कुनै न कुनै पदाधिकारीले साथ दिएका छन् । गुटगत विवाद बढ्दै जाँदा क्रान्तिकारीको सम्मेलनस्थल कीर्तिपुरमा उमेर हदको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको हो ।

सम्मेलन उद्घाटनका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरूलाई उमेरहदबारे बताएका थिए । उनले खुमलटारमै नेताहरूलाई डाकेर २८, ३० र ३२ वर्षे उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न भनेका थिए ।

प्रचण्डले उमेर हदबन्दी लगाउने-नलगाउने निर्णय मतदानमार्फत टुंग्याउन भनेपछि सम्मेलन उद्घाटन गरेर बन्दसत्र थालिएको थियो । तर चार दिन हुँदा पनि क्रान्तिकारीको सम्मेलन सकिनेभन्दा किचलोतिर गएको हो ।

बन्दसत्रमा उमेरहदबारे मतदान गर्ने-नगर्ने विषयमा छलफल चलिरहेका बेला दुई गुटबीच बढेको विवादले कुर्सी हानाहान र ठेलाठेल भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार एकजना विद्यार्थी प्रतिनिधिले विवादका क्रममा चक्कु नै निकालेका थिए । क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा उमेर हदबन्दीले नयाँ विवाद जन्माएको छ ।