Logo
४ माघ २०८१, शुक्रबार

भीम रावलले मातृभूमि जागरण अभियान चलाउँदै

अक्षरपाटी
२०८१ माघ ४ , शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) ले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान नेपाल घोषणा गरेका छन्।

देश दौडाहामार्फत् पार्टी घोषणाको तयारी गर्न लागेका रावलले बिहीबार अभियानको घोषणा गरेका हुन्।

अभियान सञ्चालनको क्रममा संगठन निर्माण गर्दै देशमा मूलधारको देशभक्तिपूर्ण राजनीतिक शक्तिरदल निर्माण गर्ने योजना रहेको रावलले बताएका छन्।

अभियान सञ्चाल गर्ने सिलसिलामा वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने रावलले सार्वजनिक गरेको अवधारणामा उल्लेख छ। जुन तहको भेला हुन्छ सोही तहको संगठन निर्माण गर्ने अभियानको योजना छ।

अवधारणा पत्रमा संगठनको स्वरूप पनि उल्लेख छ। धेरै भन्दा धेरै मानिसहरूलाई समेट्ने किसिमले संगठन बनाउने अभियानको योजना छ।

मातृभूमि जागरण अभियान राखेर तहगतरूपमा तदर्थ समिति बनाउने अभियानको योजना छ। उक्त समितिमा एक जना संयोजक र एकजना सदस्य सचिव राख्ने तथा अरू सबै सदस्य रहने अवधारणा पत्रमा उल्लेख गरिएको छ।

उक्त तदर्थ समितिमा सदस्यको संख्या १५ देखि २५ जनाको रहने र यसभन्दा बढी मानिसहरूलाई समेट्नु पर्ने भएमा सम्बन्धित तहको तदर्थ परिषद् गठन गर्ने अवधारणा अघि सारिएको छ।

परिषदबाटमाथि समिति गठन गर्ने र समितिको संयोजक र सदस्य सचिव नै परिषद्को संयोजक र सदस्य सचिव रहने पनि उल्लेख छ।

भीम रावल