Logo
१ चैत्र २०८१, शनिबार

अछाममा दुई किशोरी मृत फेला, दुई किशोर पक्राउ

अक्षरपाटी
२०८१ माघ १४ , सोमबार ११:०१ मा प्रकाशित

काठमाडौं । अछाममा दुई किशोरी मृत फेला परेको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन ।

“सोधपुछका लागि हिजो (आइतबार) दुईजनालाई ल्याएका छौँ,” जिल्ला प्रहरी कार्यालय अछामका इन्स्पेक्टर (प्रहरी निरीक्षक) टेकबहादुर देउवाले भने, “उनीहरू यहीँका हुन् । अनुसन्धान हुँदै छ ।”

अछामको ढकारी गाउँपालिका–१, छिन्ने ओढार भन्ने ठाउँमा दुई किशोरीको शव फेला परेको हो । ढकारी–८, पल्साताका अन्दाजी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरी खड्काको शव फेला परेको प्रहरी निरीक्षक देउवाले जानकारी दिए ।

नातामा उनीहरू फुपू–भदैनी हुन् । सरस्वती फुपू र ईश्वरी भदैनी रहेको प्रहरीले जनाएको छ ।

गएको शुक्रबार (माघ ११) दिउँसो उनीहरू बाख्रा चराउन घरबाट निस्किएका थिए । बेलुका उनीहरू घर फर्किएनन्, बाख्रा मात्र फर्किएका थिए । खोज्दै जाने क्रममा शनिबार (माघ १२) छिन्ने ओढारमा उनीहरू मृत फेला परेको इन्स्पेक्टर उनले जानकारी दिए ।

उनीहरूका शव पोस्टमार्टमका निम्ति आइतबार राति बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको उनले बताए ।

उनका अनुसार, शव फेला परेको स्थानभन्दा माथि भीर छ । त्यहाँबाट ढुंगा खसेको देखिन्छ ।

हत्या हो वा अरू कुनै कारणले मृत्यु भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन । कारण, शव पोस्टमार्टम हुँदै छ । पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि घटनाबारे विस्तृतमा भन्न सकिने इन्स्पेक्टर देउवाले बताए ।

घटना अनुसन्धानका निम्ति नेपालगन्जबाट प्रहरीको एउटा तालिमप्राप्त कुकुर समेत लगिएको थियो । आफूहरूले सूक्ष्म रूपमा अनुसन्धान गरेको अछामका डीएसपी ईश्वरी भण्डारीले बताए ।

उनका अनुसार, किशोरीका टाउकोमा चोट लागेको छ । लडेको देखिन्छ । घस्रिएकोरघिसारिएको देखिन्छ ।

“उनीहरू (पक्राउ परेका) २० वर्षमुनिका हुन् । शंका लागेर अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ,” डीएसपी भण्डारीले भने, “उनीहरू स्थानीय हुन् ।