Logo
१ चैत्र २०८१, शनिबार

आइएमई ग्रुपको २ अर्ब लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन

अक्षरपाटी
२०८१ फागुन २२ , बिहीबार ०२:०३ मा प्रकाशित

काठमाडौं । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरे।

उद्घाटन लगत्तै उनले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरणमैत्री क्याल्सियम कार्बोनेट उत्पादनको अवलोकन गरे।

२ अर्ब लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ। पहिलो चरणमा फोटोकपी पेपर र कापी–किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरू गरिएको छ।

शैक्षिक, प्रशासनिक तथा अन्य क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ। विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र नभई नेपालको औद्योगिक यात्रामै नव जागरणको रूपमा लिइएको बताए।


औद्योगिक विकास रोजगारीको प्रमुख कारक भएको उल्लेख गर्दै उनले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजले प्रत्यक्ष रूपमा ३०० भन्दा बढी र अप्रत्यक्ष रूपमा हजारौंका लागि रोजगारी सिर्जना गरिसकेको जानकारी गराए। जसमा इन्जिनियर, प्राविधिक, कारखाना श्रमिक, आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरू सम्मिलित छन्।

उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरूलाई रोजगारीको अवसर दिएको छ।

आइएमई ग्रुप कागज उद्योग चन्द्र प्रसाद ढकाल