Logo
२६ भदौ २०८३, शुक्रबार

देशभर मनसुन सक्रिय : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

अक्षरपाटी
२०८३ साउन २१ , बिहीबार १०:०८ मा प्रकाशित

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने विभागले जनाएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा, साथै मधेश प्रदेशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागले भारी वर्षाका कारण पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

मनसुन मौसम विभाग

ट्रेन्डिङ ( साप्ताहिक )