
काठमाडौं । एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि केही नेता एमाले फर्कने तयारी रहेका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।
पत्रकारसम्मेलनका क्रममा नेता किसान श्रेष्ठले आफूहरुलाई कुनै पद नचाहिएको बताएका छन् । आफूहरु निशर्त एमालेमा फर्किन लागेको उनले बताए ।
‘हामी कसैसँग समाहित र एकताभन्दा पनि आफूले पसिना बगाएको, जीवन अर्पण गरेको मुलघर एमालेमा फर्किन लागेका छौं । मुलघर फर्किने क्रममा एमालेसँग वार्ता संवादमै छौं,’ उनले भने । एमाले फर्कनका लागि आफूहरुले पदको शर्त नराखेको उनको भनाइ छ ।
‘हामीलाई मुलघरमा केही चाहिएको छैन । हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौं। हामीलाई निशर्त फर्किनका लागि एमालेले वातावरण बनाइदेओस्,’ उनले भने ।



