
काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पार्टी एकताप्रति असहमति जनाउँदै आए पनि अन्ततः माओवादी केन्द्र सहितका कम्युनिष्ट घटकहरूसँगको एकता घोषणा सभामा सहभागी भएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा जारी कार्यक्रममा उनको उपस्थिति अप्रत्याशित मानिएको छ, किनकि उनले केही दिनअघि मात्रै नयाँ दल गठन गर्नेसम्मको चेतावनी दिएका थिए।
खनालले माओवादी केन्द्रसँग एकता गर्ने पार्टीको निर्णयमा सार्वजनिक रूपमै असहमति जनाउँदै आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणासमेत गरेका थिए। तर, बुधबारको एकता सभामा सहभागी भएर उनले आफू प्रचण्ड-माधव नेपालकै कित्तामा उभिएको सन्देश दिएका छन्।
एकता सभामा सहभागी हुनुअघि उनले अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसँग वार्ता गरेका थिए। सोही वार्तामा सहभागी महासचिव घनश्याम भुसाल भने एकता प्रक्रियामा सामेल हुन अस्वीकार गरे।
खनालले मंगलबार साँझ मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास गुण्डुमा भेटेका थिए, जसले उनको आगामी कदमबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेको थियो। तर, ओलीसँगको भेटको भोलिपल्टै उनी प्रचण्ड-माधव नेतृत्वको एकता सभामा देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



