

महेन्द्रनगर। केही दिनयता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। चिसोका कारण विद्यालयमा पठनपाठनमा समस्या हुन थालेपछि जिल्लाका तीन स्थानीय तहले सोमबारदेखि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले चिसोको प्रभावलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका हुन्। विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयवासीको भनाइ छ।
बेल्डाँडी गाउँपालिकाले सोमबारदेखि तीन दिनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको जनाएको छ। यस्तै, बेलौरी नगरपालिकाले अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै आगामी पुस २५ गतेसम्म जाडो बिदा दिएको छ। नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले उक्त जानकारी दिएका हुन्।
यसैगरी, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गर्दै सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ।
लगातारको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका सबै पालिकामा जनजीवन प्रभावित बनेको छ। चिसो बढेसँगै बजार क्षेत्रमा समेत चहलपहल घटेको छ।




