Logo
८ माघ २०८२, बिहीबार

नेपाली खेलकुदको ठूलो र प्रतिष्ठित पल्सर अवार्ड पोखरामा

अक्षरपाटी
२०८२ पुस २३ , बुधबार १०:०१ मा प्रकाशित

पोखरा । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड आज पोखरामा हुँदैछ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजनकले जनाएको छ।

यो अवार्ड कार्यक्रमको इतिहासमै पहिलोपटक काठमाडौं बाहिर हुन लागेको हो।

अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको कार्यक्रम गरिएको थियो। मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको स्पोर्ट समिटमा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो।

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले स्पोर्टस अवार्ड पोखरामा गर्न पाएकोमा आफू उत्साहित भएको बताउँदै भने, ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। हामीलाई मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नु पर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौती भन्दा पनि बढी साथ र अवसर पाएका छौँ। मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तब्य बन्ने छ।’

त्यस्तै मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन्।

अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ, यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ।

स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन्।

अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ। त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन्।

पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल छन्। यसपल्टको कार्यक्रम बुधबार दिउँसो पोखराको सभागृहमा आयोजना हुनेछ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड