

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरू डा चन्द्र भण्डारी र डा सुनील शर्माले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र चर्कँदै गएको विवाद विभाजनतर्फ उन्मुख हुन थालेपछि उनीहरूले सक्रिय भूमिका खेल्ने बताएका हुन्।
शनिबार काठमाडौँको बत्तीसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले विशेष महाधिवेशनलाई टकरावको माध्यम होइन, पार्टीलाई एकताबद्ध गर्ने अवसरका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
उनले विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा संकल्प अधिवेशनको स्वरूपमा सीमित गर्दै काठमाडौंमा भेला भएका प्रतिनिधिहरूलाई उत्साहित बनाएर चार महिनापछि हुने नियमित महाधिवेशनतर्फ फर्कन वातावरण बनाउनुपर्नेमा जोड दिए।
‘हामी कुनै हालतमा पार्टी विभाजन हुन दिँदैनौँ,’ भण्डारीले भने, ‘यो विषयलाई टकराव होइन, निकासको रूपमा लिनुपर्छ । विशेष महाधिवेशनबाट सङ्कल्प प्रस्ताव पारित गरेर पार्टीलाई एकताबद्ध बनाउने दिशामा जानुपर्छ।’
उनले विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्ष दुवैले एक–अर्काको अपनत्व ग्रहण गर्दै मध्यमार्गी विकल्पमा आउनुपर्ने बताए।
संस्थापन पक्षले विशेष महाधिवेशन आह्वानलाई पूर्ण रूपमा अस्वीकार गर्नु कमजोरी भएको संकेत गर्दै भण्डारीले पार्टीभित्रको असन्तुष्टि संवादबाट सम्बोधन गर्नुपर्ने बताए।
त्यस्तै डा शर्माले पनि आफूहरू पार्टी विभाजन रोक्न दिनरात खटिरहेको बताए । उनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटघाट गरी पार्टीपंक्ति उत्साहित हुने गरी निकास निकाल्ने प्रयास भइरहेको जानकारी दिए।
‘विधानको व्यवस्थालाई बेवास्ता गर्दै संस्थापन पक्ष अघि बढेकै कारण कांग्रेस आज संकटको भिरको डिलमा पुगेको छ,’ शर्माले भने, ‘कांग्रेस संकटमा पर्नु भनेको देश नै संकटमा पर्नु हो।’
उनले अहिलेको विवाद समाधान गर्ने मुख्य जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काको काँधमा रहेको बताए ।
विशेष महाधिवेशन पक्षधरलाई पाखा लगाएर अर्कै बाटोमा जान खोजे समस्या झनै जटिल हुने उनको भनाइ छ।
आइतबारदेखि शुरू हुन लागेको विशेष महाधिवेशनको सन्दर्भमा धारणा सार्वजनिक गर्न डा भण्डारीले डा शर्मासहित पत्रकार सम्मेलन आयोजना गरेका हुन्।
दुवै नेता पछिल्ला दिनहरूमा विशेष महाधिवेशन आह्वानलाई स्वभाविक प्रक्रिया भन्दै यसले पार्टीलाई कमजोर होइन,अझ मजबुत बनाउने तर्क गर्दै आएका छन्।
शुक्रबार उनीहरू भृकुटीमण्डप पुगेर महामन्त्रीद्वय थापा र शर्माको कदमको समेत प्रशंसा गरे ।
पत्रकार सम्मेलनमा भण्डारीले पार्टीलाई एकताबद्ध बनाउने जुनसुकै प्रयासमा आफूहरू तयार रहेको स्पष्ट पारे । ‘पार्टी एकताबद्ध गर्न जान पनि तयार छौँ, हामी हट्दा पार्टी बन्छ भनियो भने हट्न पनि तयार छौँ,’ उनले भने।
उनले जेन–जी आन्दोलनपछि विशेष महाधिवेशन आह्वान स्वाभाविक भएको र करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको समर्थन रहेको दाबी गरे।
केन्द्रीय समितिले त्यसलाई ग्रहण नगर्नु कमजोरी भएको उनको टिप्पणी थियो । ‘हाम्रो समर्थन मिलाउने पक्षमा हो,’ भण्डारीले भने, ‘कांग्रेस नफुटोस्, नबिग्रियोस् र इतिहासले दिएको मुलुकको नेतृत्व गर्ने जिम्मेवारी पूरा गरोस् भन्ने नै हाम्रो कित्ता हो।’
चन्द्र भण्डारी विशेष महाधिवेशन शुनिल शर्मा



