Logo
२६ फागुन २०८२, मंगलबार

कसैको धम्कीले निर्वाचन आयोग प्रभावित हुँदैन : विश्वप्रकाश शर्मा

अक्षरपाटी
२०८२ माघ २ , शुक्रबार ०४:०१ मा प्रकाशित

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको पूर्णबहादुर खड्काको धम्कीबाट निर्वाचन आयोग प्रभावित हुन नहुने बताएका छन्। निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा खड्काले उक्त कुरा बताएका हुन्।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आज केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए।

उक्त अभिव्यक्तिप्रति कटाक्ष गर्दै शर्माले भने, ‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौं। निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौं। निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौं ।’