

कैलाली । कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले पढ्दै कमाउँदै कार्यक्रम आरम्भ गरेकाे छ।
संस्थाले स्थानीय सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा विपन्न समुदायका छात्रछात्रालाई विद्यालयको सिफारिसमा कुखुराका चल्लाहरु वितरण गरि यो कार्यक्रम शुरु गरेको हो।
संस्थाले पहिलो चरणमा स्थानीय सरस्वती मावि र नवज्योती माविमा अध्ययनरत २० जना विपन्न परिवारका विद्यार्थीलाई प्रति विद्यार्थी ५ वटाका दरले न्यू हिमशिखर र अष्ट्रेलियन लोकल जातका कुखुराका चल्ला वितरण गरेको हाे।
विद्यार्थीको व्यवसायिक सीप विकास गर्दै परिवारको आयआर्जनमा टेवा पुर्याउनुका साथै अभिभावकलाई व्यवसायिक कुखुरापालनतर्फ आकर्षित गर्ने संस्थाको योजना उद्देश्य रहेको छ।
भविष्यमा विद्यार्थी अथवा अभिभावकले व्यवसायिक कुखुरापालन गर्न चाहेमा संस्थाबाट आवश्यक पुँजी, प्रविधि उपलब्ध गराउने र व्यवसायिक क्षमता अभिवृद्धि गरिदिने संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए।

संस्थाले दुईवटा विद्यालयका विद्यार्थीलाई कुखुरा चल्ला वितरणका लागि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको थियाे। कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समिति सदस्य सरोज कुमार शाह, मनिराम न्यौपाने, महाप्रबन्धक डम्बरबहादुर शाह, वडा सदस्य बुधराम चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडकराज भाटले चल्ला वितराण गरेका थिए।
विद्यालयका प्रध्यानाध्यापक दीपक भण्डारीले सुदूरपश्चिममै पहिलोपटक किसान बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम आरम्भ गरेकोमा खुशी व्यक्त गरे।
वडा सदस्य बुधराम चौधरीले सहकारी संस्थाबाट सञ्चालन भइरहेका गरिब तथा विपन्न लक्षित कार्यक्रमहरुले समुदायमा आशा जगाएको भन्दै सहकारी संस्थाले आगामी दिनमा समेत समुदायमुखी कार्यक्रमहरुलाई निरन्तरता दिने अपेक्षा गरे।
विक्रम संवत २०५२ सालमा स्थापना भएको संस्थाले वित्तीय, कृषि र मार्ट गरी ३ वटा व्यवसायिक युनीटहरुमार्फत आफ्ना सदस्यलाई सेवा दिँदै आएको छ।
सुदूरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको संस्थामा ९३ हजारभन्दा बढी शेयर सदस्य रहेका छन्। संस्थाको कुल कारोबार ७ अर्ब २० करोड रहेको छ।
किसान बहुउद्देश्यीय सहकारी संस्था पढ्दै कमाउँदै



