Logo
२६ फागुन २०८२, मंगलबार

अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा ठूलो हिमआँधी, जनजीवन प्रभावित

अक्षरपाटी
२०८२ माघ १२ , सोमबार १०:०१ मा प्रकाशित

ऐजेन्सी । न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ।

शनिबार रातिदेखि सुरु भएको भारी हिमपातका कारण न्यूयोर्क र न्यूजर्सी राज्यले आपतकाल घोषणा गरेका छन्।

न्यूयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरू सोमबारका लागि बन्द गरिएका छन् भने कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन हुने जनाइएकाे छ।

न्यूयोर्कको सेन्ट्रल पार्क, म्यानहटनलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेको छ। अत्यधिक चिसोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

तापक्रम शून्यभन्दा तल करिब माइनस १० डिग्री सेल्सियससम्म झरेको छ भने चिसो हावाका कारण अनुभूत तापक्रम माइनस १५ डिग्रीसम्म पुगेको छ।

आइतबार साँझ ४ बजेपछि हिमपातको मात्रा केही घटे पनि पानी मिसिएको हिउँ सोमबारसम्म जारी रहने पूर्वानुमान गरिएको छ।

न्यूयोर्क, न्यूजर्सी, म्यासाचुसेट्स, पेन्सिल्भेनिया, कनेक्टिकट र न्यू ह्याम्पशायरमा दैनिक जीवन कठिन बनेको छ। सडकमा हिउँ पगाल्न नुन छर्किने तथा सफाइ सवारीसाधनहरू दिनभर सञ्चालनमा रहे पनि आपतकालका कारण सवारीसाधन र मानिसहरूको आवागमन न्यून देखिएको छ।

धेरै पसल तथा फास्ट–फुड सेवा पनि बन्द रहेका छन्। सरकारी अधिकारीहरूले आगामी एक हप्ता तापक्रम अझै घट्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन र न्यानो रहन आग्रह गरेका छन्।

अमेरिका हिमपतात