Logo
२६ फागुन २०८२, मंगलबार

बंगलादेशमा तीन पूर्व वरिष्ठ प्रहरीलाई मृत्युदण्ड

अक्षरपाटी
२०८२ माघ १३ , मंगलबार ११:०१ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा सन् २०२४ मा भएको हिंसात्मक सडक आन्दोलन दमनसँग सम्बन्धित मुद्दामा पूर्व ढाका प्रहरी आयुक्तसहित तीन जना वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व ढाका मेट्रोपोलिटन प्रहरी आयुक्त हबीबुर रहमान, संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उप–आयुक्त मोहम्मद अख्तरूल इस्लामलाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो।

न्यायाधीकरणका अनुसार सन् २०२४ अगस्ट ५ मा ढाकाको चंखारपुल क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर छ जनाको ज्यान गएको थियो। सोही दिन प्रधानमन्त्री शेख हसिनाको सरकार पतन भएको थियो।

अदालतले सोही घटनासँग सम्बन्धित अन्य अभियुक्तमध्ये सहायक प्रहरी आयुक्त मोहम्मद इमरूललाई ६ वर्ष, इन्स्पेक्टर अर्शद होसैनलाई ४ वर्ष तथा तीन कन्स्टेबललाई ३–३ वर्ष कैद सजाय सुनाएको छ।

मृत्युदण्ड पाएका तीन अधिकारी र इमरूलविरुद्ध मुद्दा अनुपस्थितिमै चलाइएको थियो। यसअघि उनीहरू फरार घोषित थिए।

यसअघि यही न्यायाधीकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइसकेको छ।

प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले केही अभियुक्तलाई दिइएको जेल सजायप्रति असन्तुष्टि जनाउँदै पुनरावेदनमा जाने संकेत गरेका छन्।

जनआन्दोलन चर्किएपछि शेख हसिना सन् २०२४ अगस्ट ५ मा देश छाडेर भारत पुगेकी थिइन् र हाल उतै बस्दै आएकी छन्।