



चरीकोट । नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले भीमेश्वर नगरपालिकाको वडा नम्बर ७ मा घरदैलो गरेका छन्।
आज बिहानैदेखि कार्यकर्तासहित चुनावी मैदानमा निस्किएका उनले मकैबारीका स्थानीयसँग भेटघाट गर्दै प्रल्हाद बस्नेतको सप्ताह कार्यक्रममा पुगेर आशीर्वादसमेत लिएका छन्।
बाटोमा सर्वसाधारणसँग कुरा गर्दै उनले पुरानो १२ नम्बर वडाका केही भाग र वडा नम्बर १ को क्षमावती क्षेत्रमासमेत पुगेर मत मागेका छन्।
शिवाकोटीले आफू जनताको सच्चा प्रतिनिधि भएर दोलखाको मुहार फेर्न चुनावी मैदानमा आएको र विजयी भएपछि सधैँ जनताकै सुखदुःखमा साथ दिने प्रतिबद्धता जनाएका छन्। उनले यस पटक ‘सिँचाइ र माटोको गुणवत्ता’ लाई पनि जोड दिएका छन्।
‘हामी सक्छौँ, परिवर्तन सम्भव छ’ भन्ने नाराका साथ उनले दोलखाको समग्र आर्थिक र सामाजिक विकासका एजेन्डाहरू जनतामाझ लैजाने बताएका छन्।
भ्रष्टाचार विरोधी अभियान र पत्रकारिताको पृष्ठभूमिबाट आएका कारण उनीप्रति विशेषगरी युवा पुस्ताको आकर्षण बढी देखिएको छ।
दोस्रो दिनको घरदैलो कार्यक्रममा शिवाकोटीलाई समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले पनि साथ दिएकी थिइन्। ठूलो सङ्ख्यामा उपस्थित स्थानीय नेता तथा कार्यकर्ताहरूको साथले उनको चुनावी अभियानमा थप उत्साह थपेको छ।
अजयबाबु शिवाकोटी


