Logo
३१ वैशाख २०८३, बिहीबार

जन्ती बस दुर्घटना : आठ जनाको निधन, घाइतेलाई अस्पताल लगियो (अपडेट)

अक्षरपाटी
२०८२ माघ २२ , बिहीबार १०:०२ मा प्रकाशित

बैतडी। बैतडीमा जन्ती बोकेको बस आज अवेश साँझ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४५ जना घाइते भएका छन्।

बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ को बडगाउँ मोडमा दुर्घटना भएको हो।

बेलुकी ८ बजेतिर दुर्घटना हुँदा एक महिला र सात पुरूषको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

उनले भने, ‘आठ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकमा एक महिला र सात पुरुष छन्।’

उनका अनुसार मृत्यु हुनेमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला तथा बैतडीको पुर्चौँडी–७ कि ४० वर्षीया पुष्पा अवस्थी रहेका छन्।

दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकी पठाइएको उनले बताए।

घाइते हुनेमा २७ पुरूष र १८ महिला रहेका छन्। उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने बताइएको छ।

बैतडी बस दुर्घटना

ट्रेन्डिङ ( साप्ताहिक )