



काठमाडौं। सरकारले यस वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाउने तयारी गरेको छ।
२००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो।
बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको छ।
प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरु, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य छन्। गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य(सचिव तोकिएको छ।
निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ।
मूल समारोहको कार्यक्रम काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ ।
बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ हाम्रा लागि एकदमै महत्त्वपूर्ण छ। यसबीचमा हामीले पटकपटक प्रजातन्त्रका लागि संघर्ष गर्नुपरेको छ। ती सबै आन्दोलन र नेपाली जनताले गरेको बलिदानी र त्यसबाट भएका उपलब्धिको प्रतीक हो यो दिन। देशमा पछिल्लो समय केही सकारात्मक परिवर्तन देखिन थालेको छ।’
उनले भदौ २३ र २४ गते भएको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको समे बताइन्।
‘देशमा अलिकति परिवर्तन आएको छ। हरेक ठाउँमा नयाँ युवाहरुलाई ठाउँ दिनुपर्ने भावना मुलुकमा जागेको छ। यही भावनाबाट प्रजातन्त्र फस्टाउँछ र विकसित हुन्छ’, उनले भनिन्।
यो दिन एकै प्रयासमा सम्भव नभएको बताउँदै उनले हाम्रो समाज सधैँ आन्दोलित नै रहेको स्मरण गर्दै गत भदौ २३ र २४ मा त झन् ठूलो साइक्लोनजस्तै भेल आएको उनले बताइन्।
लोकतन्त्र स्थापित गर्ने मात्र होइन । लोकतन्त्रको बाटोमा हामी हिँड्नुपर्ने उनले बताइन्। उनले जनताको र युवाको चाहनाबमोजिम काम गरेर देखाउनुपर्ने धारणा राखिन्।
‘२००७ सालदेखि जेनजी आन्दोलन कतिले ज्यान गुमाउनुपर्यो ? कतिपटक आन्दोलन गर्नुपर्यो ? त्यसको स्मरण गरौँ। ती सहिदहरुको सम्मान गरौँ। तिनको बलिदानीलाई सम्झौँ र उहाँहरुको सपनालाई वास्तवमै साकार पार्न लागौँ’, उनले भनिन्।
निर्वाचन प्रधानमन्त्री सुशीला कार्की



