



धादिङ । मुग्लिङ–काठमाडौं सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६ स्थित दसकिलोमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दाङबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे आपसमा ठोक्किएका थिए। दुर्घटनापछि एउटा बस अनियन्त्रित भई सडकछेउको टिनले छाएको कच्ची चिया पसलमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।
बस पसलमा ठोक्किँदा त्यहाँ चिया पिइरहेका धुनिवेशी नगरपालिका ९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ गम्भीर घाइते भएका थिए। उपचारका लागि ट्रमा सेन्टर लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा चिया पसलका सञ्चालक बाँकेको बैजनाथ गाउँपालिका १ निवासी ५४ वर्षीय खगेश्वर शर्मा र रसुवातर्फ जाँदै गरेको बसमा सवार ८ वर्षीया सफलता पुलामी मगर घाइते भएका छन्। दुवैको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
धादिङ बस दुर्घटना


