



नवलपरासी। पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्।
०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण सार्वजनिक गरेका हुन्।
जेन–जी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्यांकन जनतामाझ राखेका छन्।
रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताएका छन्।
उनले भने, ‘प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधुन् भन्ने चाहन्छु। जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो। प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं। देश बदल्छौं भनेर बाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौँ। त्यसैले मैले ३१ बुँदे घोषणापत्रको एक–एक बुँदाको उत्तर लिएर आएको छु।’
चौधरीका अनुसार उक्त रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपी उनको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने चौधरीको सचिवालयले जनाएको छ।
उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन्।
अबको संकल्प के?
चौधरी अबको कार्यकाललाई ‘निरन्तरताको चरण’ भन्छन्। उनका अनुसार आगामी पाँच वर्षमा नवलपरासीलाई लुम्बिनी प्रदेशकै नमुना निर्वाचन क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य छ। औद्योगिक ग्रामलाई पूर्ण सञ्चालनमा ल्याई स्थानीय रोजगारी सिर्जना गर्ने, कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य शृंखला विकास गर्ने, केरा र उखुलाई निर्यातयोग्य बनाउने, सुक्खा बन्दरगाह स्थापनाका लागि कूटनीतिक पहल तीव्र बनाउने र पर्यटन पूर्वाधारलाई बहुवर्षीय योजनामार्फत पूरा गर्ने उनका प्राथमिकता छन्।
साथै, सुशासन र नीतिगत सुधारलाई राष्ट्रिय एजेन्डा बनाउने प्रतिवद्धता उनी दोहोर्याउँछन्। लगानीमैत्री वातावरण, सेवा प्रवाहमा सहजता र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्ने उनले बताउँदै आएका छन्।
उनले भने-‘अधुरा कामलाई पूर्णता दिन निरन्तरता आवश्यक छ। समुन्नत नवलपरासीको सपना सामूहिक प्रयासबाट मात्र साकार हुन्छ।‘
अब निर्णय मतदाताको हातमा छ। तीन वर्षको कार्यसम्पादन र आगामी संकल्पसहित प्रस्तुत गरिएको यो रिपोर्ट कार्डले जनविश्वासलाई पुनः आर्जन गर्छ भन्ने विश्वासमा चौधरी छन्।
चौधरीले देशमा सुशासन र आर्थिक एजेन्डा राजनीतिको केन्द्रमा आउन नसकेको स्वीकार गर्दै अब नीतिगत सुधारमार्फत अर्थतन्त्रलाई गतिशील बनाउने प्रतिवद्धता दोहोर्याएका छन्। उनका अनुसार, ‘विकासलाई द्रुतता दिन स्थिर नीति, लगानीमैत्री वातावरण र स्थानीय स्तरमा रोजगारी सिर्जना अनिवार्य छ।‘
निर्वाचन रिपोर्ट कार्ड विनाेद चाैधरी



