Logo
६ असार २०८३, शनिबार

हिमाली जिल्लामा चुनाव हाेला कि नहोला ? अवस्था बुझ्न प्रधानमन्त्री साेलुखुम्बुमा

अक्षरपाटी
२०८२ माघ २९ , बिहीबार १०:०२ मा प्रकाशित

काठमाडाैं। चिसोका कारण हिमाली जिल्लामा फागुन २१ गते नै निर्वाचन होला कि नहोला भन्ने जिज्ञासा बाँकी नै छ। यो अवस्थामा त्यहाँकाे वस्तुस्थिति के छ भनेर बुझ्न प्रधानमन्त्री सुशीला कार्की आज सोलुखुम्बु पुगेकी छन्।

प्रधानमन्त्री कार्कीसँग उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसँगै छन्।

हेलिकप्टरमार्फत सोलुखुम्बु पुगेको प्रधानमन्त्री कार्कीसहितको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको प्रेस सल्लाहकार रावलले बताए।

सल्लाहकार रावलका अनुसार अहिलेसम्मको अवस्था हेर्दा फागुन २१ गतेको निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ जिल्लाका अधिकारीहरुले गरेका छन्।

प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरुले स्वागत गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन्।

आज र भोलि पूर्वी क्षेत्रका हिमाली जिल्लाको अवस्था बुझेर पश्चिम जाने योजना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलले बताए।

निर्वाचन प्रधानमन्त्री सुशीला कार्की